लमजुङ, १ जेठ -जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकामा विवादका कारण आज साढे १२ बजेदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ । नेकपा (एमाले) कार्यकर्ताले गठबन्धका कार्यकर्तालाई घाइते बनाएको र क्षतिपूर्तिको माग गरेपछि मतगणना स्थगित भए पनि साढे चार बजेदेखि पुनः मतगणना सुरु भएको मस्र्याङ्दी निर्वाचन अधिकृत उदयराज काफ्लेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिजो बेलुका झगडा हुँदा एमालेको कार्यकर्ताबाट कांग्रेसका बुद्धिबहादुर तामाङलगायतका केही युवाहरु घाइते भएका छन् । सोही विषयमा विवाद चर्किंदा मत गणनासमेत स्थगित भएको थियो ।” सबै दलका प्रतिनिधि सहभागी भएर सर्वदलीय बैदक बसेर एमालेले घाइतेहरुको उपचार खर्च बेहोर्ने सहमति भएपछि पुनः मतगणना सञ्चालन भएको उहाँको भनाइ छ । यहाँ वडा नंं २ र वडा नंं ३ को मतगणना हुँदाहुँदै स्थगित भएको थियो । अहिले तिनै वडाको मतगणना गरिने भएको छ । यसअघि वडा नं १ मा एमालेका रुद्रमान गुरुङ विजयी भइसक्नुभएको छ ।(रासस)