काठमाडौं २९ वैशाख । स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जना पार्टीबाट निलम्बन भएका छन् ।
निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका चितवनका ५ नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले दिएको जानकारी अनुसार निलम्बन हुनेमा भरतपुर–२ का तरूण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत ,भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र भरतपुर–८ का क्रियाशील सदस्य डा। केशव पौडेल रहेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरूद्ध सक्रिय रहि पार्टीको विभान र अनुशासन भन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुने गरि पार्टी सदस्यबाट निलम्बनको लागि सिफारिस भई आएकोमा सोही अनुसार निलम्बन गरिएको पराजुलीले बताएका छन् ।
साथै , यस अघि नै भरतपुर महानगरपालिकामको मयेरको पदमा बागी उम्मेदवार दिएका नेता जगन्नाथ पौडेललाई निलम्बन गरिसकेको छ ।