कोरोनाको महामारी पछि हलहरुमा बिस्तारै फिल्म लाग्न सुरु भएको छ । सुरुमा हलहरुमा जानका लागि नेपाली फिल्म तयार थिएनन् । तर बिस्तारै अब हलहरुमा फिल्म लाग्न सुरु भईसकेको छ । तर जब नेपाली फिल्म उद्योग बौरिरहेको अवस्थामा थियो तब साउथ फिल्महरुको दबदबा कायमै रहेको छ । यतिबेला कुनै पनि नेपाली फिल्मले राम्रो ब्यापार गर्न सकिरहेको छैन ।
तर झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ले भने राम्रै दर्शक पाईरहेको छ । यो संगसंगै रिलिज भएका अन्य नयाँ नेपाली फिल्मले भने हल सम्म दर्शक तान्न सकेका छैनन् । ए मेरो हजुर ४ पछि रिलीज भएका राम्रै लगानीका फिल्महरु , मन्त्र, लक्का जवान र षट्कोणले दर्शकलाई तान्न नसकेपछि पुनः ए मेरो हजुर ४ ले दर्शकलाई तान्दै आशाजनक ब्यापार गरेको छ ।
सबैभन्दा धेरै हाँस्य कलाकारहरु रहेको फिल्म ‘लक्का जवान’ लाई राम्रै हेरिएको थियो । यस फिल्मबाट पनि अपेक्षा गरिएको थियो तर फेल खायो । ए मेरो हजुर ४’ अघि गतबर्षको फागुण १३ गतेबाट रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा राम्रै ब्यापार गरेको थियो । त्यसपछि रिलिज भएका ‘लप्पन छप्पन २, चिसो एष्ट्रे, हेल्लो जिन्दगी’ लगायतका फिल्म बक्स अफिसमा राम्रो संग खुट्टा समेत टेक्न सकेनन् ।
यो महिना रिलिज भएका ‘मन्त्र, लक्का जवान र षट्कोण’ बक्स अफिसमा नराम्रोसँग पछारिएका छन् । अब अर्काे महिनामा रिलीज हुन लागेको कबडी फिल्मले भने दर्शक हल सम्म तान्ने अपेक्षा गरिएको छ ।