पोखराको पन्ध्रौं मेयर को ? (यस्तो छ इतिहास) — OSNepal

पोखराको पन्ध्रौं मेयर को ? (यस्तो छ इतिहास)

LC (KTM) May 10, 2022 0

पोखरा, २७ वैशाख- २०१६ सालमा नगर पन्चायतको रुपमा गठन भएको पोखरा हाल देशकै ठूलो महानगरको रुपमा स्थापित भएको छ । पहिलो मेयर बनेका थिए शिवबहादुर थापा । उनले २०१६ देखि ०१८ सम्म कार्यभार सम्हाले । २०१९ सालमा नगेन्द्रबहादुर रायमाझी मेयर बने । उनले ५ वर्ष काम गरे । त्यसपछि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । चौंथो मेयरको रुपमा काम गरेका रुद्रबहादुर कार्कीको केही महिनाअघि मात्रै निधन भएको छ । उनी २०२८ देखि २०३१ सम्म मेयर बनेका थिए ।

पोखराको पहिलो गुरुयोजना उनकै कार्यकालमा बनेको थियो । कार्कीकै कार्यकालमा बनेको गुरुयोजना अनुसार हाल निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल, न्युरोड, पोखरा बसपार्क लगायतको जग्गा अधिग्रहण गरिएको हो । तर अधिकांश योजना कार्यान्वयनमा गएको छैन ।

२०३१ देखि ०३२ सम्मको अवधी दीलिपकुमार पालिखे मेयर बनेका थिए भने सबैभन्दा कम अवधीका लागि रमेशबहादुर भट्टराई जम्मा ७ महिना मेयर बनेका थिए । गणेश शेरचन २०३२ देखि २०३८ सम्म, श्रीप्रसाद गुरुङ २०३८ देखि ०३९ सम्मको मेयर भएर काम गरेका थिए ।

२०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन मेयर भए । सूर्यबहादुर केसी २०४१ देखि २०४६ को मेयर बने । उनी पछि नेपाली कांग्रेस प्रवेश गरेर समानुपातिक सांसद भएका थिए । २०४९ सालमा पहिलो पटक स्थानीय निकायको चुनाव भयो । जहाँ राजनीतिक दलहरु प्रतिश्पर्धामा थिए । कांग्रेसका भोला थापा ५ वर्षका लागि पोखराको दशौं मेयर निर्वाचित भए । उनकै कार्यकालमा पोखरा नगरपालिकाबाट उपमहानगरपालिका बनेको थियो ।

२०५४ सालमा एमालेका कृष्णबहादुर थापा निर्वाचित भए । उनको कार्यकाल सकिएपछि देशमा स्थानीय निकायको निर्वाचन भएन । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने । नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४ औं मेयर भएर कार्यकाल व्यतित गरिसकेका छन् ।

अहिले पोखराका लागि १५ औं मेयरको चुनाव हुँदैछ । पोखराको पन्ध्रौं मेयरका लागि एमालेका कृष्णबहादुर थापा (जो २०५४ को मेयर निर्वाचित भएका थिए) र पूर्व एमालेका धनराज आचार्य गठबन्धनबाट साझा उम्मेद्वार भएका छन् । उनीहरु दुईमध्ये एकजनाले मेयरमा बाजी मार्नेछन् । यहाँ २३ जना मेयरको प्रतिश्पर्धी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर