संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : नेत्री सिंह — OSNepal

संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : नेत्री सिंह

LC (KTM) May 08, 2022 0

काठमाडौँ- गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफूले अगाडि सारेको सात सङ्कल्पअनुसार काठमाडौँ महानगरलाई समृद्ध बनाउने बताउनुभयो । “म गर्न नसक्ने ठूला कुरा सपना बाँड्दिन, आफूले अगाडि सारेको सङ्कल्प पूरा गर्छु”, उहाँले भन्नुभयो । उहाँले काठमाडौँको प्रमुख समस्या फोहोर व्यवस्थापन भएको बताउँदै फोहोरको सफल व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महानगरभित्रका कार्यालय विभिन्न स्थानमा छरिएर कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदै प्रविधिको माध्यमबाट घरघरबाट सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो ।नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताउनुभयो ।

कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोलले काठमाडौँको प्रमुखमा कांग्रेसले महिलालाई उम्मेदवार बनाएर देशभरका महिलाको सम्मान गरेको बताउनुभयो । उहाँले कांग्रेसको पहिलो सरकारले द्वारिकादेवी ठकुरानीलाई महिला बनाएको स्मरण गर्दै राजनीतिमा महिला सक्षम भएको उदाहरण कांग्रेसले दिएको उल्लेख गर्नुभयो ।

कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्षका उम्मेदवार ख्यामराज तिवारीले ठमेलदेखि नयाँ बसपार्क क्षेत्रको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रहसमेत गर्नुभयो ।कांग्रेसले महिलालाई काठमाडौँको प्रमुखको उम्मेदवार बनाएर राम्रो कामको सुरुआत गरेको भन्दै घर व्यवस्थापन गर्ने महिलाले महानगरको कुशल व्यवस्थापन गर्ने उहाँको भनाइ थियो ।कांग्रेस काठमाडौँ महानगरपालिका–२६ को सदस्यमा प्रवेश श्रेष्ठ, बाबुकाजी महर्जन, शान्ता प्रजापति र रुपा नेपालीले उम्मेदवारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर