काठमाडौं, २४ वैशाख-जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् ।आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् ।
‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पानपा–६ को घरदैलो अभियानतिर लागियो’, भट्टराईले ट्वीटरमा लेखेका छन् ।उनले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको पनि बताए ।
यसअघि हिजो सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा भट्टराई घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् ।पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका जिल्लाको चुनावी अभियानमा छन् ।
जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो । गठबन्धनमा रहेका अन्य दलहरू नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका संयुक्त चुनावी सभामा सहभागी हुँदै आएका छन् ।
तर, जसपा अध्यक्ष यादवसँगै उक्त पार्टीका सङ्घीय परिषद् अध्यक्ष भट्टराई भने संयुक्त चुनावी सभामा सहभागी भएका छैनन् ।भट्टराईको त गठबन्धन दलहरूबीच भएको तालमेलको विषयमा पनि असन्तुष्टि छ ।