'महानगर र उपमहानगरपलिकामा गठबन्धनले निर्णय गरेर पठाएको उम्मेदवारनै विजयी हुन्छ , एकाध बागीले परिणाममा कुनै असर पार्दैन' — OSNepal

‘महानगर र उपमहानगरपलिकामा गठबन्धनले निर्णय गरेर पठाएको उम्मेदवारनै विजयी हुन्छ , एकाध बागीले परिणाममा कुनै असर पार्दैन’

LC (KTM) May 03, 2022 0

काठमाडौं २० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताएका छन् ।

शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिहरको बताएका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि वैशाख ३० गते स्थानीय तहको निर्वाचन दोस्रोपटक हुन लागेको बताएका छन् ।

‘माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेन्डाको, गठबन्धनको, सरकारको, यी सबै प्रक्रियाको पनि नेतृत्वदायी भूमिका खेलिरहेको छ ।’ एक अन्तर्वार्तामा उनले भनेका छन् ।

६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले लिइएको जानकारी दिएका प्रचण्डले भनेका छन्, ‘महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध बागीले परिणाममा कुनै असर पार्दैन ।’

‘यो राष्ट्रलाई अप्ठ्यारो परेको बेला कसले बचाएको छ, कुन पार्टीले कुन नेतृत्वले भन्ने कुरा पनि गएको १५-२० वर्षको अवधिमा जनताले नजीकबाट अनुभुत गरेको छ भन्ने मलाई विश्वास छ । त्यसकारण आम मतदाता जो स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ, उहाँहरुलाई मैले गर्ने अपिल के हो भने यो परिवर्तनको रक्षा गर्ने र सुदृढ गर्ने एउटा विचार, प्रवृत्ति र नेतृत्व छ भने अर्कोतर्फ एउटा यसलाई परिवर्तनलाई नरुचाउने र फर्केर पुरानै प्रवृत्तितिर लैजान खोज्ने, पुरानै निरंकुशता, पुरानै अराजकतातिर जान खोज्ने एउटा विचार प्रवृत्ति र नेतृत्व छ । ‘ प्रचण्डले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर