कान्तिपुर नामकरण भएको कान्तिभैरव जात्राको तयारी पूरा — OSNepal

कान्तिपुर नामकरण भएको कान्तिभैरव जात्राको तयारी पूरा

LC (KTM) April 29, 2022 0

काठमाडौँ- वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा सुरु हुने कान्तिभैरव जात्राको तयारी पूरा भएको छ । आजका दिन स्थानीयवासीले आआफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । जात्राका लागि स्थानीयवासीले बिहानैदेखि घर आँगन, टोल छिमेक सफाइ गरेका छन् ।

गोकर्णेश्वर उत्तरगया क्षेत्रमा ध्वजा पताकाले बेहुलीझैँ सिँगारेर आकर्षक बनाइएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएकाले पनि यो जात्राको विशेष महत्व रहेको यहाँका बूढापाका बताउँछन् ।

यो जात्राका क्रममा वैशाखकृष्ण आमावास्याका दिन अर्थात् शनिबार स्थानीय डबलीमा आमाछोरी र सासु बुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साविकको गोकर्णेश्वर गाविसका पूर्व उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन् । गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा आराधना गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाई हर्षबढाइ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोल टोलमा घुमाउने काम सुरु हुन्छ ।

भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक÷एक पाथीे भातको देवता बनाउँछन् । पाक्ता पाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीयवासीका रुपमा जात्रामा सक्रिय सहभागिता जनाउनुहुने रामदास श्रेष्ठ बताउनुहुन्छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन् । जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्ने लगायतका काममा जात्रालुको भीड लाग्ने गरेको बाल्यकालदेखि नै जात्रा हेर्दै आउनुभएकी विपना देउला बताउनुहुन्छ ।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र विसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागी बीचमा तँछाड मछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।
आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पु¥याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास यस क्षेत्रका मानिसमा लिच्छविकालदेखि रहेको कान्तिभैरव जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयअन्तर्गत स्नातकोत्तर तहको शोध गर्नुभएका वटुराम भण्डारी बताउनुहुन्छ । रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दूर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रसस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोष अन्तर्गतको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन् । जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारहरुको गुनासो छ ।

यही जात्राको नामबाट कान्तिपुर नगरको नामकरण गरिएको विश्वास गरिन्छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराको विषय उल्लेख गर्नुभएको जात्राको विषयमा स्नातकोत्तर शोध गर्नुभएका भण्डारीले जानकारी दिनुभयो । मध्यरातिदेखि सुरु हुने जात्रा भए पनि स्थानीयवासीको सहभागिता भव्य हुन्छ । मध्यरातमा हुने जात्रा भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु यो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको स्थानीय श्यामकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर