काठमाडौं १५ वैशाख । शहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने बताएको छ ।
मन्त्रालयले आचारसंहिता लागू हुनुअघि नै नेपाल सरकारको निर्णय अनुसार विदेश भ्रमण तय भइसकेकाले मन्त्री झाक्रीको विदेश भ्रमणमा आचारसंहिता नलाग्ने जनाएको हो ।
निर्वाचन आयोगले भने विदेश भ्रमण जानस अगाडी मन्त्री झाँक्रीले जानकारी नगराएको र स्विकृती नलिएको भन्दै स्पष्टिकरण सोधेको थियो ।
मन्त्रालयले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘आचारसंहिता लागू हुनुअघि नै नेपाल सरकारको निर्णय अनुसार, मन्त्रीज्यू पूर्वनिर्धारित कार्यक्रम बमोजिम मनोनयन स्विकृत भई उक्त कार्यक्रममा सहभागिताका लागि प्रस्थान गर्नुभएको हो’ ।
झाँक्री न्यूयोर्कमा २८ अप्रिलमा हुने नयाँ शहरी योजना कार्यान्वयनको प्रगतिबारे उच्चस्तरिय बैठकमा सहभागी हुन वैशाख ९ गते अमेरिकाको भ्रमण गएकी थिइन् ।
झाँक्रीको विदेश भ्रमण गत चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो । भने आचारसंहिता त्यसको भोली पल्ट चैत २५ गते लागु भएको थियो ।