काठमाडौं १५ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर १’ संज्ञा दिएका छन् ।
बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
ओली सरकारमा छँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको जिकिर गरेका उनले लुट्ने, चुस्ने काम ओलीबाट भएको बताएका छन् ।
‘केपी ओली भएका बेला उनले पनि केही काम गरे,यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने काम गरे । उनले लुट्ने, चुस्ने काम गरे । देश र जनताको सेवा गर्ने काम हामीले गर्यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्यौं ।’नेपालले भने,
साथै, नेपालले बुढापाकालाई वृद्धभत्ता दिने काम अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था आफैले गरेको दावी गरेका छन् ।
‘अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले गर्यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो ।’ उनले भने ।
आफुहरु इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे भएको बताएका उनले ओली बेमानी र जालझेलको राजनीति गर्ने मान्छे भएको बताएका छन् ।