भैरहवा, १३ वैशाख-पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने बताएका छन् ।नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उमेदवारहरुको परिचय तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै भुसालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजयी यात्रा सुनिश्चित भएको दाबी गरे ।
निर्वाचनमा इमान्दार र असल व्यक्तित्व भएका उमेदवारलाई मत दिनुपर्ने बताउँदै उनले यतिबेला स्थानीय तहको निर्वाचनको क्रमममा केही ठाउँहरुमा जस्तो सुकै प्रवृत्तिका मान्छे पनि उम्मेदवार भएको बताए ।
‘मतदातालाई विभिन्न आश्वासन र सपना बाड्न सक्छन् त्यस तर्फ सबै सचेत हुदैं असल र इमान्दार व्यक्तित्व छनौट गर्नु पर्दछ ’ उनले भने ।
नेता भुसालले एमालेको तर्फबाट सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्यालको प्रशंसा गर्दै भने, ‘राजनैतिक इमान्दारीता र परिपक्वताको दृष्टिले अत्यन्तै असल छबीका व्यक्ति मात्रै होइन आम सिद्धार्थनगरबासीको रोजाइको हिसाबले पनि सबैको साझा उम्मेदवार हो ।’रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थिले एमालेको राष्ट्रियता, देशभक्ति र समग्र मुलुकको दीर्घकालिन विकासको योजना नै जितको मुख्य आधार भएको बताए । पाँच वर्षमा एमाले नेतृत्वको स्थानीय तहमो देखिनेगरी भएको विकास आगमी निर्वाचनमा जितको अर्को आधार भएको उनले बताए ।
चार दशकदेखि एमालेको राजनीतिमा सक्रिय मेयरका उम्मेदवार डा. बस्यालले सिद्धार्थनगरमा उदाहरणीय काम गर्दै जनताको सेवक हुनेगरी आफ्नो उम्मेदवारी रहेको बताए ।यसैगरी उपमेयरको उम्मेदवार उमा अधिकारीले सामाजि रुपान्तरण र चेतनाको स्तरबृद्धि गर्नेगरी आफुहरुले काम गर्ने समेत बताइन् ।
सिद्धार्थनगरमा एमालेको तर्फबाट उम्मेदवार रहेका डा बस्याल , पेशाले चिकित्सक हुन् । पाल्पामा जन्मिएर भारतमा पढेर २०२८ सालमा उनी नेपाल आए । उनले भैरहवालाई ४६ वर्षदेखि कार्यक्षेत्र बनाए ।
चिकित्सक पेशासंगै पाल्पाबाट २०४२ सालमा जनपक्षीय उमेदवार बनेका उनले सफलता भने पाएनन् ।यसैगरी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा उमा अधिकारीले लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेकी एमाले जिल्ला कमिटी सदस्य हुन् ।
२०५७ सालमा नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएकी उमा २०६० सालमा अखिलको रुपन्देही जिल्ला कमिटी सदस्य र भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष भएकी थिइन् । उमा सोही समयमा अखिलको अंचल कमिटी सदस्य हुँदै महिला विभाग प्रमुख समेत भएर काम गरिन् ।उनी नेकपा एमालेमा २ कार्यकाल क्षेत्रिय कमिटी सदस्य र २ कार्यकाल जिल्ला कमिटी सदस्य भइसकेकी छन् ।