हेटौंडा, १२ वैशाख-हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरूमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा बाजागाजा र र्यालीसहित पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् ।
त्यसैगरी उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट छन् । एमालेले हेटौंडामा रहेको १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरुको पनि उम्मेदवारी दर्ता गराएको छ ।
मनोनयन दर्तापछि बोल्दै मेयरका उम्मेदवार पौडेलले गठबन्धनले अस्थिरता ल्याउने भएकाले आम मतदाताले गठबन्धनको विरुद्धमा मतदान गर्ने दावी गरे ।‘हेटौंडाको १९ वटै वडालाई समानुपातिक विकास गरेर उपमहानगरपालिकालाई महानगरको रुपमा विकास गर्न पहलकदमी अगाडि बढाउने छौं ,’ उनले भने ।