काठमाडौं ७ वैशाख । नेपालगञ्ज उपमहानगरपालिको मेयर नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले अशन्तुष्टि जनाएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले नेपालगञ्जको उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिएपछि जसपाले आपत्ती जनाएको हो ।
नेपालगञ्जका जसपाका स्थानीय नेता कार्यकर्ताले भने पार्टी परित्याग गर्न तयारीमा लागेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने तयारीमा लागेका छन् ।
पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय निणर्य गरेको आरोप लगाएका नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले अर्कै चुनाव चिन्ह लिएर जाने चेतावनी दिएका छन् ।
हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं, भनेका राईले पार्टीको तर्फबाट निर्णय जसले गरेपनि उहाँहरू आफ्नो तरिकाले अघि बढे पनि आफ्नो जिल्लाका नेता कार्यकर्ता यो निणर्य नमान्ने बताएका छन् ।
राईले दिएको जानकारी अनुसार शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी समेत भएको बताइएको छ ।