काठमाडौ ३० चैत । स्थानी तह निर्वाचनको लागि सत्तारुढ गठवन्धनबिच सहमति भएको छ । सहमति भएसँगै भरतपुरको मेयर पाउने कांग्रेसको सपना भने तुहिएको छ ।
यसको अर्थ फेरि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई चिठ्ठा परेको छ । अहिले पनि मेयरको कुर्सी हाकिरहेकी रेणु फेरि पनि मेयर बन्ने लगभग पक्का भएको छ । किनभने माओवादी केन्द्रले उनलाई फेरि दोहोर्याउन चाहेको छ ।
चितवन जिल्लाका कांग्रेस सभापति तथा नेताहरुले विरोध गरेपनि पार्टी सभापति शेरबहादुर देउवाले भरतपुरमा पुन रेणुलाई मेयर बनाउने सहमति जनाइसकेका छन् ।
योसँगै अब जति विरोध गरेपनि कांग्रेसले भरतपुर नपाउने भएको छ । तर चितवनका कांग्रेस नेताहरुलाई मन्थन गराउन कम्तिमा पाँच स्थानीय तहमा नेतृत्व र अन्यमा सह–नेतृत्व दिने समेत तयानरी भएको बुझिएको छ ।
भरतपुरमा मेयर बन्न कांग्रेसका २५ जनाले आकांक्षा देखाएका छन् । यस अघि पनि देउवाले चितवनमा कांग्रेस एक्लैले जित्न नसक्ने भन्दै दावी गरेका थिए ।
तर, पनि चितवन कांग्रेसका नेताहरुले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीलाई भेटेर चुनावी तालमेल भएपनि भरतपुरको मेयर नछाड्न माग गर्दै आएका थिए ।
मंगलबार पनि चितवन कांग्रेसका नेताहरुले भरतपुरको मेयर नपाए स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने भन्दै चेतावनी समेत दिएका थिए ।