काठमाडौ ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको टिप्पणी गरेका छन् ।
कमिसन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याउँदा यस्तो अवस्था आएको उनले बताएका हुन् ।
बीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले बैंकमा नोट नहुनुको कारण नेताहरू र काला व्यापारीहरु मुख्य कारक रहेको बताएका छन् ।
‘नोट कहाँ गयो ? नेताहरूको घरमा । नेताहरूको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ । एकचोटी राप्रपालाई सहयोग गर्नुस् त । यिनीहरूको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौँ। गर्न सकिन्छ ।’ उनले भने । ‘
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई भोट हाले घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गर्न क्षमता आफुहरुसँग भएको बताएका छन् ।