काठमाडौं, ३० चैत – जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १-१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति १-१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १-० अन्तरले पराजित गरेको थियो ।
समग्रमा भिल्लारियल २-१ अन्तरले विजयी भयो । योसँगै ६ पटकको च्याम्पियन बायर्न प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो लेगमा खेल पूरा आफ्नो पकडमा राखेपनी बायर्न सफल हुन सकेन । खेलकाे ५२ औ मिनेटमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।
तर, भ्रमणकारी टोलीका स्यामुअल चुक्केजेले खेल सकिन दुई मिनेट अघि गोल गर्दा बायर्न स्तब्ध भयो । सेमिफाइनलमा भिल्लारियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।
मंगलबार नै भएको अर्को खेलमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु परेकाे छ ।