काठमाडौं २९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जिल्ला सदस्य डिल्लीराम घिमिरेले एमाले परित्याग गरेका छन् । आफुलाई पार्टीले मेयरको टिकट नदिएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।
मेचीनगर नगरपालिकाको मेयरका आकांक्षी रहेका उनको नाम पार्टीले सिफारिस नगरेपछि उनले रुँदैरुँदै पार्टी छाडेका हुन् ।
नेता घिमिरेले पत्रकार सम्मेलन गरी ३१ वर्षअघि पार्टी सदस्यता लिएको भन्दै उनले आफुलाई पार्टीबाट निस्कन बाध्य पारिएको भन्दै आरोप समेत लगाएका छन् । पार्टीका केही नेताले आफ्नो अवमूल्यन गर्दै अवसरबाट वञ्चित गर्ने र घेराबन्दी गर्ने कार्य गरेको उनले बताएका छन् ।
आफु पार्टीबाट निस्किएको नभई पार्टीले आफुलाई निष्कासन गरेको उनले दावी गरेका छन् । ‘मलाई निकालेका हुन्, निस्कन बाध्य पारेका हुन्,’ उनले भने ।
आफ्नो आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताएका उनले तत्काल अन्य पार्टी नजान जानकारी समेत दिएका छन् ।