काठमाडौं २८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामीहरूको सरकारले लोकतन्त्र धरापमा पार्ने काम गरिरहेको बताएका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले गठबन्धन नामको खैजडी सरकार भएको भन्दै यस्तो बताएका हुन् ।
‘गठबन्धन नामको खैजडी सरकारलाई भन्न चाहन्छु, अब चुनाव रोक्ने षड्यन्त्र गर्ने होइन, यो गठबन्धन सरकार भनेको प्रतिगामीहरूको सरकार हो, यस सरकारले लोकतन्त्र धरापमा पार्ने काम गरिरहेको छ ।’ सम्बोधनमा ओलीले भने ।
एमालेले चाहेमा गठबन्धन सरकार एक हप्तामा उखेलेर फाल्न सक्ने चुनौती दिएका उनले तर चुनाव बिथोल्ने हामीलाई चाहना नभएकोले आफुहरु चुप लागेर बसेको बताएका छन् ।
अहिलेको सरकारमा पाँच वटा मुख भएको खञ्चुवाहरू भएको भन्दै वर्तमान सरकारको तिव्र आलोचना गरेका उनले भने, ‘अहिले पाँच वटा मुख भएका खन्चिुवाहरू सरकारमा छन्, यसले देश विकास गर्ने होइन, कर्मचारीलाई समेत तलब दिन सक्ने अवस्थामा छैन । ‘
सय रुपैयाँबाट शुरु भएको वृद्ध भत्ता एमालेकै कारण अहिले दिनकै एक सय ३३ रुपैयाँमा पुर्याएको दावी गरेका उनले नेकपा एमाले बुढाबुढीलाई सम्झिने, घरघरमा धारा ल्याउने, पक्की पुलहरू बनाएर देशमा आधुनिकता ल्याउने पार्टी भएको बताएका छन् ।