काठमाडौं २७ चैत । नेकपा एकिकृत समाजवादी पार्टीले आगामी निर्वाचनको लागि पार्टी अध्यक्ष माधव कुमार नेपाललाई चुनावी कमान्डर तोकेको छ ।
पार्टीको केन्द्रिय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।
आगामी वैशाख ३० गते एकै चरणमा देशभर हुने स्थानीय तह निर्वाचनको लागि नेपालको नेतृत्वमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने गरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
जसमा पार्टीका महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।