नेपालमा पहिलो र दोस्रो लहरमा नै बालबालिकामा कोरोना सङ्क्रमणपछिको जटिलता देखिन थाल्यो — OSNepal

नेपालमा पहिलो र दोस्रो लहरमा नै बालबालिकामा कोरोना सङ्क्रमणपछिको जटिलता देखिन थाल्यो

LC (KTM) June 09, 2021 0

काठमाडौँ, २६ जेठ – नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जलिटलता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको तेस्रो र चौथो लहरमा एमआइएस–सी सङ्क्रमण देखिने बढी जनाएको छ । एमआइएस–सी भनेको कोरोना सङक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गाैला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सङ्क्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो सङ्क्रमण देखिन थालेको पुष्टि गर्नुभयो ।

उहाँले कोभिड–१९ विरुद्ध शरिरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरिरमा नै हानी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गाैला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको बताउनुभयो । उहाँले ती सङ्क्रमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताउनुभयो । कान्ति बाल अस्पतालका निर्देशक डा आरपि बिच्छाले पनि पहिलो लहरको ओरोलो लाग्ने वेलादेखि नै उक्त सङ्क्रमणका बालबालिका देखिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फकिएसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत रहेका छन् । “नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस–सी को सङ्क्रमण देखिएको हो,” उहाँले भन्नुभयो, “अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।”

उहाँका अनुसार पहिलो लहरमा २३ बालबालिकामा र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ । यस्तो खालको सङ्क्रमणको उपचारका लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ । पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । “यो रोग पनि कोभिड–१९ कै कारण देखिने सङ्क्रमण हो । यो बाबालिकामा देखिने बित्तिकै आत्तिहाल्नु हुन्न,” उहाँले भन्नुभयो,“ समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।” उहाँका अनुसार वेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ ।

यो सामान्यत कोरोना सङक्रमण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु जस्ता देखिने गर्दछन् । मन्त्रालयले सङ्क्रमित वा सङ्क्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा विच्छाले एमआइएस–सी को सङ्क्रमण भएका बालबालिकाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसियु), २५ हाइ डिपेडेन्सी युनिट (एचडियु) रहेका छन् । यस्तै १० आइसियु र २५ एचडियु थप्ने क्रममा रहेको छ । अहिले कोभिड–१९ सङ्क्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ । बालबालिकामा एमआइएस–सी को संक्रमणबाट बिरामी तेस्रो र चौथो लहरबाट झनै बढ्ने भएकोले नै यसअघि स्वास्थ्यमन्त्री शेरवहादुर तामाङ्ले बालबालिकाको उपचारका लागि सातै वटा प्रदेशमा आइसियू र भेन्टिलेटर सहितको अस्पताल स्थापना गर्ने बताउनु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बालबालिकाको उपचारलाई लक्षित गरेर २० प्रतिशत शय्या छुट्टाउन थालिएको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर