काठमाडौं २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले कारबाहीको डण्डा देखाएर आचारसंहिता जारी गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रममा अध्यक्ष ओलीले आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप लगाएका हुन् ।
आयोगले सत्तागठवन्ध दलहरुसँग मात्रै परामर्श लिई आचारसंहिता जारी गरेको भन्दै आचारसंहिता नमान्ने जो सुकैलाई कारबाही गरिन्छ भनेर थर्काएको बताएका छन् ।
‘तपाईंहरूले सही गरे गर्नुस् नगरे नगर्नुस् केही छैन, जसले मान्दैन उसलाई कारबाही गर्छौं भनेर निर्वाचन आयोगले कारबाहीको डण्डा देखाएर आचारसंहिता जारी गर्यो’ ओलीले भने ।
आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भए पनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका उनले भने,’ निर्वाचन आयोग निर्वाचन गराउने चिज हो ।थर्काउने चिज त होइन ।’