नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको लिग खेलेको धेरै बर्ष बितिसकेको छ । उनी हालै सार्वजनिक गरिएको लिगा वान फुटबलमा सर्वाधिक धेरै मिनेट खेल्ने खेलाडीको सूचीमा अटेका छन् ।
पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिग खेलिरहेका रोहित सर्वाधिक धेरै मिनेट खेल्ने खेलाडीको सूचीको शीर्ष पाँचमा परेका हुन् । सन् २०२१-२२ को सिजन सकिएपछि लिगा वानले सार्वजनिक गरेको तथ्यांकअनुसार रोहित सूचीको चौंथो स्थानमा अटाएका छन् ।
लिगा वानले २०१७ देखि २०२२ सम्मको तथ्यांक अनुसार सूची तयार गरेको हो । तथ्यांक अनुसार रोहितले कुल १०.०८६ मिनेट मैदानमा बिताएका छन् । सूचीको शीर्ष स्थानमा आरोन इभान्स, दोस्रो स्थानमा रिको रहेका छन् । जोहान अहमेद तेस्रो र विल्जन पुलिम पाँचौ स्थानमा छन् ।