आसन्न स्थानीय तहको निर्वाचनका लागि गल्याङ नगरपालिकाको प्रमुखमा फेरि पनि उम्मेद्वारी दिन वर्तमान नगरप्रमुख भुपराज अधिकारीलाई जनताले दबाब दिन थालेका छन् । अधिकारी नेकपा एमालेबाट निर्विकल्प उम्मेद्वार भएको भन्दै फेरि पनि चुनावी मैदानमा उत्रन स्थानीयबासीले दबाब दिएका हुन् ।
बजार तथा गाउँघरमा हुने छलफल तथा सार्बजनिक कार्यक्रमहरुमा समेत अधिकारीले मेयरमा टिकट पाए मात्रै एमालेको जित पक्का हुने चर्चा चल्ने गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीसँगै व्यक्तिगत मतको पनि निकै महत्व हुने भएकाले अन्य पार्टीको मत ल्याउन पनि भुपराज अधिकारी मात्रै सक्षम भएको गल्याङ नगरपालिका १ मालुङ्गाकी संगीता बस्याल बताउँछिन् ।
नयाँ नगरपालिका र कोरोना संक्रमणको तीन वर्षको कष्टका बीच गल्याङ नगरपालिकाको विकासमा धेरै परिवर्तन भएको गल्याङ नगरपालिका ९, साङ्लीयाका सन्देश रानाले बताए ।
उत्पादनका आधारमा विना भेदभाव अनुदानको व्यवस्था, स्याङ्जा जिल्लामै सबैभन्दा ठूलो ७२ रोपनी क्षेत्रफलमा निर्माण सम्पन्न हुन लागेको प्रशासनिक भवन, आफ्नै डोजरबाट गाउँगाउँमा पुगेका सडकहरु सहित पूर्वाधारहरु बनेकाले अबको पाँच वर्षमा गल्याङ नगरको विकासका लागि भुपराज अधिकारी नै आउनुपर्ने उनीहरुको तर्क छ ।
निम्न वर्गका जनतासँग निरन्तर सम्पर्कमा रहने र प्रत्यक्ष रुपमा जनताको सुखदुखमा साथ दिने अधिकारीको प्रबृत्ति धेरैले रुचाएको पाइएको छ । नेकपा एमालेबाट मेयरका आकांक्षी अन्य धेरै भएपनि भुपराज अधिकारीसँग तुलना गर्न नसकिने भन्दै पार्टीबाट अन्यको पक्षमा निर्णय भएमा गल्याङ नगरवासीले नस्विकार्ने तयारी समेत भएको स्रोतको भनाई छ ।