काठमाडौँ, २२ चैत-प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको आज एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गर्नुभएको हो । उक्त समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौँलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
हाँले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले व्यापारलाई सहजीकरण गरी पारदर्शीता अभिवृद्धिमार्फत निर्यात प्रवद्र्धनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताउनुभयो । बन्दरगाहले काठमाडौँ उपत्यकाबाट हुने व्यापारलाई थप सहजता प्रदान गर्न र वस्तु वा सेवाको लागत घटाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने उहाँको भनाइ छ ।नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।
“मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलितरूपमा विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूर्ण संरचना हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसलाई आत्मसात गरी सरकारले मुलुकका विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण र छिमेकी मुलुकको सीमा क्षेत्रमा जोडिएको नाका र भन्सार कोरिडोरको स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको छ ।” उहाँले आर्थिक वृद्धिको इञ्जिन मानिने अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा यस प्रकारका संरचना निर्माणको खाँचो रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपालको औद्योगिक वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यातमार्फत व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । साथै स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने र त्यसले देशमा औद्योगिक विकास र रोजगारीको सिर्जनामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
मुलुकमा लगानी र औद्योगिक विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको, आवश्यक पर्ने नीतिगत र प्रक्रियागत संरचनाको सुधारका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने समारोहमा प्रधानमन्त्रीले विश्वास दिलाउनुभयो ।
उहाँले थप्नुभयो, “बढ्दो व्यापार घाटालाई कम गर्न एकातर्फ स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपमा आधारित उत्पादनमा जोड दिनु आवश्यक छ भने अर्काेतर्फ व्यापारजन्य पूर्वाधारको विकास गरी आयात, निर्यातलाई लागत कम हुने गरी पूर्वाधार विकास गर्न खाँचो छ ।”
वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई सरलीकरण र न्यूनीकरण गर्दै लैजानु पनि जरुरी रहेको उहाँले बताउनुभयो । त्यसका लागि सरकार समस्या समाधान गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले व्यापार घाटा कम गर्न नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको स्वदेशी कच्चापदार्थमा आधारित उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउने र अनुत्पादक र विलासिताका वस्तुलाई व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण उद्योग व्यवसायीलाई आह्वान पनि गर्नुभयो । प्रधानमन्त्री देउवाले यस पूर्वाधारको पूर्ण क्षमतामा सञ्चालन गरी कुशल व्यवस्थापन गर्न सकिए उद्देश्य पूरा हुनेसमेत बताउनुभएको छ । (रासस) :