काठमाडौँ-कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले परम्परादेखि चलिआएको बाटो बन्द गर्ने केही स्थानीयवासीको कदमका विरुद्ध परेको उजुरीमा छ महिना बितिसक्दा पनि निर्णय दिन नसकेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।वडा नं ५ थली चौरबाट पश्चिमतर्फको नगरपालिकाले नै कैलाश मार्ग नामकरण गरेको सडक राजु सिम्खडा र जगन्नाथ पौडेलले रोकेको भनी स्थानीयवासी तुलसीप्रसाद चौँलागाईँलगायत १० जनाले गत असोजमा न्यायिक समितिमा उजुरी दर्ता गराउनुभएको थियो । यो बाटो २०३० सालदेखि चलेको स्थानीय बूढापाका बताउँछन् ।
स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) ठ ले यस्ता मुद्दामा न्यायिक समितिले तीन महिनाभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरेको छ । तर कागेश्वरी मनोहरा नगरपालिकाको न्यायिक समितिले छ महिना बितिसक्दा पनि निर्णय गर्न नसकेको पीडितको गुनासो छ ।
न्यायिक समिति सदस्यसमेत रहेका वडाध्यक्ष राजाराम पुडासैनी पनि पीडकका पक्षमा लागेको पीडितको भनाइ छ । स्थानीय तह सञ्चालन ऐनले न्यायिक समितिले गर्न सक्ने भनी तोकेको मुद्दाको पेसीमा चैत २० गते आइतबार जाँदा जिल्ला अदालत जानू भनी पन्छिन खोजेको उजुरीकर्ता चौँलागाइँले बताउनुभयो ।न्यायिक समिति संयोजकसमेत रहनुभएका नगर उपप्रमुख विन्दु सिम्खडा पुडासैनीलाई यस विषयमा प्रतिक्रिया लिन पटकपटक सम्पर्क गरे पनि उहाँ सम्पर्कमा आउनुभएन । नगर प्रवक्ता र न्यायिक समिति सदस्यसमेत रहनुभएका वडाध्यक्ष राजाराम पुडासैनी पनि सम्पर्कमा आउन चाहनुभएन । (रासस)