काठमाडौं, २० चैत -राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए ।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरुलाई ठूलो चुनौती दिएका छन् ।
गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेको राप्रपा नेताहरुले बताएका छन् । गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।
कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा कमजोर उम्मेदवार होइनन् भन्ने देखिएको छ ।२०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रविना देशको विकास र समृद्धि सम्भव नरहेको बताए ।
सभालाई लिङ्देनसहित प्रदेश १ का अध्यक्ष राम थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपासहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् ।नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागिताले अन्य दललाई चुनौती थपिएको छ । अन्य दलको कार्यक्रममा भन्दा राप्रपाको कार्यक्रममा भएको नागरिकको उत्साहजनक सहभागिताले आउँदो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति बलियो बनाउने देखिएको छ ।मौजुदा प्रतिनिधिसभामा राप्रपाबाट लिङ्देनको मात्र सहभागिता छ । तर, अब लिङ्देनकै नेतृत्वमा राप्रपाले संसदमा दमदार उपस्थिति जनाउने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।