यी हुन् गृहमन्त्रीको लागि चर्चामा रहेका तीन नाम — OSNepal

यी हुन् गृहमन्त्रीको लागि चर्चामा रहेका तीन नाम

LC (KTM) June 09, 2021 0

काठमाडौं, जेठ २६- पटकपटक मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर्ने हुँदा प्रधानमन्त्री सकसमा परेका खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्। यही सकसका कारण निकै महत्वपूर्ण मानिएका गृह, उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालय केही समयदेखि मन्त्रीविहीन हुँदै आइरहेका छन् । तीलगायत सातवटा मन्त्रालय रिक्त रहँदा मन्त्रालयले गर्ने महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित हुँदै आएका छन्।

मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसद दौडधूपमा लागेका छन् । यसअघि मन्त्री नभएका र पार्टीमा इमानदारितापूर्वक लामो त्याग गर्दै आइरहेकालाई मन्त्री बनाउन प्रधानमन्त्री माथि दबाब परेको छ।प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि सो प्रयासले सार्थकता पाउन सकेको छैन।यसअघि, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा)का राजेन्द्र महतो र महन्थ ठाकुर पक्षलाई समेटेर १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन आफैंसँग राखेका छन् । यी सबै महत्वपूर्ण मन्त्रालयको रूपमा रहेका छन्।

गृह मन्त्रालयमा को जाने भन्नेमा हाल पार्टीभित्र हानथाप परेको छ । गृहमा युवा नेता महेश बस्नेतको चर्चा बढी छ । प्रधानमन्त्री ओलीले अहिलेको समयमा गृह हाँक्नका लागि सक्षम व्यक्ति बस्नेत नै रहेको भन्दै बस्नेतलाई नै गृहमन्त्री बनाउने मनस्थिति बनाएको बताइएको छ । यद्यपि, केहीले बस्नेतलाई सञ्चार मन्त्रालयमा लैजान सुझाउँदै आएका छन्। यस्तै खगराज अधिकारी र कर्णबहादुर थापाको नाम पनि गृहमन्त्रीका रूपमा चर्चामा छ । मन्त्री हुने चर्चामा रहेका अन्यहरूमा विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत छन्।

यता, नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरूले पनि केही महत्वपूर्ण मन्त्रालय माग गरेको स्रोतले बतायो । मौजुदा मन्त्रिपरिषद्मा माओवादी केन्द्र परित्याग गरेका कोही मन्त्रीहरू अहिले अटाएका छैनन् । यसअघि, गृहमन्त्री रामबहादुर थापा बादलसहित सात मन्त्री सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण ६ जेठमा पदमुक्त भएका थिए । माओवादी केन्द्रबाट आएका नेताहरूले सातवटै मन्त्रालय माग गर्दै आएका छन् ।यसअघि, प्रधानमन्त्री ओलीले झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरूको साथ छाड्ने दुई जनालाई मन्त्री बनाइसकेका छन् । रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर