काठमाडौं, १७ चैत-सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनकाे बैठक बस्दैछ ।
गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहकाे चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि साेही अनुरुपकाे निर्णय गरेपछि अब तालमेलकाे माेडालिटी लगाइन लागिएकाे हाे ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
३० वैशाखमा स्थानीय तहकाे निर्वाचन तय भएकाे छ ।कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडाैंमा आयाेजित कार्यक्रममा तालमेलका लागि माेडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।