बाँके- बाँकेको खजुरा गाउँपालिकामा सुरु भएको ग्रीन सिटी परियोजनाले कृषि पेशा गर्दै आएका किसानमा उत्साह थपेको छ । परम्परागत रुपमा गर्ने गरिएको कृषि कार्यलाई आधुनिक रुपमा सञ्चालन गर्न परियोजनाले प्रोत्साह गरेको खजुरा गाउँपालिका– ३ का अगुवा किसान मानबहादुर भण्डारीले बताउनुभयो । उहाँले कोरोनाले थला परेका किसानलाई परियोजनाले आधुनिक कृषि कार्य गर्न हौसला प्रदान गरेको उल्लेख गर्नुभयो ।
खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान गेहेन्द्र्र धितालले कृषिमा राम्रो गर्न खर्चिलो प्रविधिबिनै पनि काम गर्न सकिने परियोजनाले सिकाएको बताउँदै त्यसका लागि इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि कार्य गर्दै आएका आफु जस्ता किसान दाजुभाइलाई परियोजनाले उत्साह थपेको उल्लेख गर्नुभयो । यो किसानको लागि खजुरामा सबै भन्दा ठूलो र गौरवको योजना भएकाले धेरै भन्दा धेरै किसानलाई समेट्नुपर्ने उहाँको सुझाव थियो ।
यसको अध्ययनका लागि परियोजना अन्तर्गत पहिलो चरणमा कृषि तथा पशुपालन रोजिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । उहाँका अनुसार, थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दिगोपनाका लागि कृषि तथा पशुपालक किसानलाई अनलाइन तालिम दिइएको छ । तालिममा कृषि र पशुपालन गर्ने खजुराका ३० किसानको सहभागिता थियो ।
परियोजनाको सुरुआतमा कृषिलाई प्राथमिकता दिइएको जनाउनुभयो । खजुरालाई व्यवस्थित ग्रीन सिटीको रुपमा विकास गर्न उज्वेगिस्तानको राजधानी तास्कन्दमा युनाइटेड नेशन अफ साउथ कर्पोरेशन र खजुरा गाउँपालिकाबीच सम्झौता पश्चात टोलीले खजुराको स्थलगत अवलोकन गरेर पहिलो चरणमा तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख पुनम पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष कक्षपतिले परियोजनाको सुरुवात भइसकेको बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा लागू गर्न आफूले सम्बन्धित निकाय सामु पहल गरिरहेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले यो परियोजना खजुराको विकासका लागि ठूलो अवसर रहेको बताउनुभयो । –––