मुगु- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित सालिकको अनावरण तथा भवनको उद्घाटन गर्नुभएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्व बखतबहादुर शाहीको अर्धकद सालिक अनावरण र विपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूरदराजबाट प्रजातन्त्रका लागि लडेका र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा मुगु पार्टी सभापति स्व बखतबहादुर शाहीलाई सम्मान गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले उहाँको सालिक बनाएकाले आफूसहित सिङ्गो कांगे्रस खुसी भएको र शहीदप्रति सच्चा सम्मान भएको बताउनुभयो । नगरपालिकाकै सहयोगमा नवनिर्मित दुईतले विपी स्मृति भवन निर्माण भएसँगै विपीले देखेको समाजवादको सपना पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्व बखतबहादुर शाहीलाई २०५८ साल माघ ३ गते राति घरमा खाना खाइरहेका बेला तत्कालीन विद्रोही पक्ष माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए । अहिलेका उपलब्धि शहीद र जननिर्वाचित विपी कोइरालाले खेलेको भूमिका तथा आन्दोलनबाट प्राप्त भएकाले सही उपलब्धिबाट आफूहरूले शासन सत्ता चलाउन पाएकाले विपी स्मृति भवन र शहीद बखतबहादुर शाही सालिक बनाएको नगरप्रमुख हरिजङ्ग शाहीले बताउनुभयो ।
नगरपालिकाले गरेका कार्यको प्रशंसा गर्दै प्रमुख अतिति पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल विशेष अतिथि कांगे्रस मुगु सभापति ऐनबहादुर शाहीले लोकतन्त्रका लागि शहीद बखतबहादुर शाही र जननायक विपी कोइरालाले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । अनावरित सालिक ६ लाख ५० हजार र विपी स्मृति भवन श्रमदानसहित करिब एक करोड लागतमा निर्माण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लले जानकारी गराउनुभयो ।