काठमाडौ १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको हेलिकप्टर लिएर पोखरा पुगेकी छन् । सोमबार न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी पोखरा पुगेकी हुन् ।
राष्ट्रपतिलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री पद्मा अर्याल, प्रदेश सभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले स्वागत गरेका छन् ।
संविधानको भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ । महानगर, उपमहानगर, नगर, गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था रहेको छ ।