काठमाडौं १४ चैत । आगामी वैशाख ३० गते एकै चरणमा हुने स्थानीय तह निवार्चनमा सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा रहेका आयोगले जनाएको छ ।
नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै मतदाता रहेको निर्वाचन पनि यही स्थानीय तह निर्वाचन भएको छ । जसमा देशभरबाट १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुने भएका छन् ।
जसको लागि आयोगले देशभर १० हजार ७५३ मतदान स्थल अन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरु राख्ने निर्णय गरेको छ । मोरङमा यस पटक ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् ।
त्यसैगरी, सबैभन्दा कम मतदाता संख्या मनाङमा ६ हजार ४९६ , मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै मतदाता रहेको पहिलो जिल्लामा मोरङ परेपछि दोस्रो र तेस्रोमा भने झापा र काठमाडौं परेको छ ।
जसमा झापामा मतदाता संख्या ६ लाख ४६ हजार २३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना रहेको आयोगले जानकारी दिएको छ ।