काठमाडौ १० चैत । नाबालिक माथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका पल शाह भनिने पुर्णविक्रम शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
बिहिबार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
त्यस्तै पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने जिल्ला अदालत तनहुँले एक लाख रुपैयाँ धरौटी माग गरेको छ। बालिकालाई जबरजस्ती करणी गर्न सहयोग गरेको अभियोगमा जोशीविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको थियो ।
पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।