जनकपुर, १० चैत-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनुभएको छ ।धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।”
अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा हामी इमान्दार छौँ भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताउनुभयो । गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो ।
“गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन्”, अध्यक्ष नेपालले भन्नुभयो”, हरेक पार्टी आ–आफ्नो शक्ति र सामथ्र्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ ।” अध्यक्ष नेपालले आवश्यकता प¥यो भन्ने ‘विन विन’ का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार छौं भन्नुभयो ।
अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताउनुभयो । आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै उहाँले नेता–कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गर्नुभयो ।
राजनीति व्यापक सम्भावनाको खेल हो, भोलि निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुनसक्छ कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भन्नुभयो, “एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन ।” एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ, उहाँले बताउनुभयो । (रासस)