खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवार त्रासमा — OSNepal

खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवार त्रासमा

LC (KTM) March 24, 2022 0

महोत्तरी- महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ ।खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीनतले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी इसारा लामाले बताउनुभयो । मध्यरातसम्म साना– साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठूला–ठूला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो ।

तीनतलेबाट झरेको पहिराले खयरमाराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङखोला, चनौटे, गर्दीखोला, भाङ्गरे झ्याउरे र खयरमाराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् । खयरमाराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएकामा अहिले पहिराले खोला पुरेपछि खयरमाराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको छ ।

वर्षायाम लाग्नुभन्दा तीन÷चार महिना पहिले नै गएको बेमौसमी पहिराले त्रस्त बनेका स्थानीयवासी वर्षायाम लागेपछि हुने थप पहिराको पीडालाई अनुमान गर्दै चिन्तित भएका छन् ।
वातावरण क्षेत्रमा काम गर्दै आउनुभएका बर्दिबासका नागदेव यादवले विगत एक सातादेखि तराई मधेसमा एक्कासि बढेको अत्यधिक तापक्रमले चुरे पहाडमा रहेको खुकुलो चट्टानमा तातो र चिसोको सन्तुलन मिल्न नसक्दा पहिरो गएको बताउनुभएको छ । उहाँले थप पहिरो जान सक्ने भएकाले त्यस क्षेत्रका बस्ती जोखिममा रहेको पनि औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर