काठमाडौं १० चैत । जनता समाजवादी पार्टी सजपाका संघीय परिषद्का अध्यक्ष डा . बाबुराम भट्टराई आफु मेयरमा उठ्न तयार भएको बताएका छन् । पटक-पटक सांसद हुनुको सट्टा बरु एक पटक स्थानीय तहको प्रमुख भएर आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने चाहना भएको बताएका हुन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन् , ‘मेरो एउटा रोमान्टिक सोच मात्रै होइन, कहिलेकाहीँ सोच्छु पनि । म ६८ वर्ष भइसकेँ । पटक(पटक सांसद हुनुको सट्टा बरु एक पटक स्थानीय तहमा त्यहाँ धेरै टाढा हिँडडुल गर्न पनि पर्दैन । त्यहाँ बसेर अनुभव, क्षमताको उपयोग गर्न पनि सकिन्छ, आवश्यक पर्यो भने’ ।
आफुले म सांसद हुन्नँ, तपाईंहरू सांसदमा लड्नुहोस् म नगरपालिकामा लड्छु भनेको बताएका उनले स्थानीय तहको निर्वाचनमा लड्नका लागि जहाँ मतदाता नामावली छ त्यहीँ लड्नुपर्ने अवस्था रहेको भन्दै काठमाडौं महानगरपालिकाको मेयरमा लड्न नसक्ने पनि स्पष्ट पारेका छन् ।
‘मतदाता नामावली भएकै स्थानीय तहमा मात्र उम्मेदवार हुन पाइन्छ, अन्यत्र पाइँदैन । मेरो मतदाता नामावली सूची पालुङटार नगरपालिकामा छ । अहिले मैले चाहेर पनि काठमाडौं महानगरमा उठ्न सक्दिनँ । जनताले चाहे, त्यस्तो आवश्यकता भयो भने अर्को चोटि मतदाता नामावली परिवर्तन गर्न सक्छु ।’ उनले भने ।
राजनीति भनेको जनताको सेवा गर्ने माध्यम हो भने जहाँबाट बढी सेवा हुनसक्छ, समाज रूपान्तरणको काम हुनसक्छ, त्यहाँ जाने बताएका उनले फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिप उदाहरण दिँदै उनले भने, ‘फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले राजिनामा गरेर आफ्नो पुरानो नगरपालिकामा उम्मेदवार बनेर जिते । अहिले पनि उनी मेयर छन् ।’
कुनै पनि तहमा गएर काम गर्न हामी तयर हुनुपर्छ । एकचोटि भर्याङमाथि उक्लिएपछि तल झर्नै हुन्न भन्ने सामन्ती सोच त्याग्नुपर्छ ।