सरकारले यसपाली स्थानीय तहको निर्वाचनको मिती घोषणा गरे संगै बिभिन्न राजनितीक दल चुनावमा केन्द्रित हुन सुरु गरेका छन् । उम्मेद्धार तोक्ने र गठबन्धन गर्ने सम्मका कार्यहरु सुरु भईसकेका छन् । यसैक्रममा गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धनका हात अघि बढायो । गठबन्धनबाट नै भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल कि सुपुत्री रेनु दाहाल निर्वाचित भईन् ।
उप-प्रमुखमा कांग्रेसबाट पार्वती शाह ठकुरी विजयी भईन् । तर त्यो बेला कांग्रेसबाट मेयरमा उम्मेद्धारका रुपमा उभिएका दिनेश कोइरालाले मन मिचेरै भए पनि रेणुलाई सहयोग गर्नु परेको थियो । माथिल्लो तहको यो निर्णय भए पनि कांग्रेस चितवनका नेता तथा कार्यकर्ताहरु यसकार्य बाट निक्कै नै रुष्ट भएका थिए । केन्द्रीय समितिले त्यसलाई चुनावी तालमेल भने पनि कांग्रेस चितवनले त्यसलाई गठबन्धनको रुपमा लिएन ।
यस पटक फेरि स्थानीय तहमा २०७४ मा जस्तै कांग्रेसले रुख छोडेर अन्तै मत हाल्ने अवस्था आउँछ कि आउँदैन भन्ने बहसको बिषय बनिरहेको छ । आउँदो स्थानीय तहको निर्वाचन २०७८ बैशाख ३० गते हुँदैछ । कांग्रेसले भरतपुरसहित ६ वटै महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत ११ गतेका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
गठबन्धनबीच देशभरका ६ महानगरपालिका मध्ये काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिएर भरतपुर माओवादी केन्द्रलाई दिने बिषयमा छलफल भइरहेको एक केन्द्रिय सदस्यले बताएका छन् । यस्तै पोखरा नेकपा एकीकृत समाजवादी र वीरगञ्ज जनता समाजवादी पार्टी ९जसपा० लाई दिने छलफल चलिरहेको छ । केन्द्रमा तालमेलको चर्चा चलिरहँदा कांग्रेस चितवनका नेताहरु भने त्यसको विपक्षमा रहेका छन् । यस पटक कांग्रेस केन्द्रीय समितिमा चितवनबाट ६ जना सदस्यहरु छन् । १४ औं महाधिवेशनबाट कांग्रेसले पहिलो पटक केन्द्रीय सदस्य पाएको हो । जसका कारण चितवनमा यसपटक कांग्रेसकै उम्मेद्धार हुनुपर्ने कुरा केन्द्रीय समिति बैठकमा बलियो बन्दै गएको छ ।
कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला २०७४ सालको निर्णयलाई गठबन्धन मान्न तयार छैनन् । उनको भाषाको त्यो ‘तालमेल’ नभई ‘बेतालमेल’ र एउटा व्यक्ति बिशेषलाई जिताउन ‘लादिएको निर्णय’ थियो । कोइराला भरतपुर महानगर प्रमुखको उम्मेदवार रहेका थिए । कोईराला भन्छन्– ‘२०७४ मा भएको त्यो गठबन्धन नै होइन । त्यो कुनै एक व्यक्तिलाई अगाडि बढाउन लादिएको निर्णय हो । गठबन्धन भनेको बसेर छलफल गरिन्छ, समिक्षा हुन्छ, जोड घटाउ हुन्छ । यहाँ बलियो र यहाँ कमजोर छ भन्ने हुन्छ । बलियोलाई सहयोग गरेर जाऔं भन्ने हुन्छ । सहमति सहकार्य हुन्छ । त्यो २०७४ सालको तालमेल होइन, ‘बेतालमेल’ हो ।’
उनले साँच्चिकै गठबन्धन भएको भए, ६० हजार मत आउनु पर्ने बताउँदै जित्नका लागि भनेर मतपत्र च्यात्नु पर्ने अवस्था नआउने दाबी गरे । अब यस खालको गठबन्धन नहुने उनले बताए । यसपटक माओवादी केन्द्रले चितवनका सातै स्थानीय तहमा कांग्रेसलाई समर्थन गर्नुपर्ने उनको माग छ । ‘२०७४ मा माओवादीले कांग्रेसलाई ठूलो घात गरेको छ । अहिले तालमेलको कुरा अघि बढाउने हो भने माओवादीले बिनाशर्त कांग्रेसलाई समर्थन गर्ने हो भने बल्ल वार्ता अघि बढ्छ, उनी भन्छन्, ‘होइन भने त्यो २०७४ सालको जस्तो गठबन्धन चाँही चितवनमा हुँदैन । सबै तहमा कांग्रेसले उम्मेदवार उठाउँछ, कांग्रेसमा नै भोट हाल्छौं र जित्छौं पनि ।’
कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ यस पटक गठबन्धनको नाममा चितवन नछोड्ने बताउँछन् । केन्द्रीय समितिको बैठकमा चुनावी तालमेल भए पनि कांग्रेसले चितवन नछोड्ने अडान राखिने उनी बताउँछन् । ‘तालमेल अरु ठाउँमा गरौं, सधैं चितवनमा किन ? यसपटक चितवन हामीलाई छोड्नुस् भन्ने आफुहरुको माग रहेको उनले बताए । केन्द्रले निर्णय गर्योन भने के हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामी भिड्छौं, लाग्छौं । सम्भावना हाम्रो पक्षमा राम्रै छ ।’ कम्तीमा भरतपुर महानगरपालिका यस पटक कांग्रेसले नछोड्ने उनी बताउँछन् ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुरमा र प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं। ३ मा रुखमा भोट हाल्न नपाएको पीडा रहेकोले अब त्यस्तो हुन नदिने अडान लिइरहेका छन् । जिल्लाको समन्वयमा पार्टीहरुको आकार अनुसार गठबन्धन हुनुपर्ने उनको भनाइ छ । जिल्लाले नै समन्वय गरेर मतदाता संख्या धेरै हुने पार्टी प्रमुख पदमा र कम हुने सहायक पदमा आउनुपर्ने उनको भनाइ छ । ‘जो जती साइजमा छौं । जुन पार्टीको मतदाता धेरै छन् त्यो पार्टी मुख्य ठाउँमा आउँछ, जुन पार्टीको मतदाता कम छ त्यो सहायक ठाउँमा आउँछ, उनी भन्छन्, ‘जिल्लाले समन्वय गर्ने परिस्थिति निर्माण हुनुपर्छ ।’ केन्द्रीय समितिको बैठक अघि कांग्रेस जिल्ला समितिले केन्द्रीय सदस्यहरुलाई निरन्तर सम्पर्कमा रहिरहन आग्रह गरेको छ ।