काठमाडौं ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिक विधेयक रोकिएको आरोप लगाएका छन् ।
मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर धाम पुगेका अध्यक्ष प्रचण्डले एमाले माथि यस्तो आरोप लगाएका हुन् ।
‘नागरिकता विधेयक पनि एमालेका कारण रोकिएको छ, हामीले जनतामा गएर यो कुरा भनिदिनु पर्छ ।’ उनले भने ।
आफु प्रधानमन्त्री हुँदा दुईपटक मधेसी जनताको भावनाअनुसार संशोधनको प्रस्ताव दर्ता गरेको भएपनि त्यसलाई नेकपा एमालेले रोकेको दावी गरेका उनले कम्युनिस्ट भन्ने गैर कम्युनिष्टले नै मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको जिकिर समेत गरेका छन् ।
‘सदन अवरुद्ध प्रतिगमनकै निरन्तरता हो, जुन सेटिङमा प्रतिगामीहरूले संसद विघटन गरे, त्यही सेटिङवाला अहिले पनि यसकै पक्षमा छन्, यो निर्वाचनमा त्यसको भण्डाफोर गर्न पछि पर्न हुँदैन,’ उनले भने।
यो निर्वाचन अरुका लागि चुनाव हाम्रा लागि जिवनमरणको विषय भएको बताएका प्रचण्डले आफ्नो खुट्टा बलियो बनाउनुपर्ने बताएका छन् ।