काठमाडौ ८ चैत । स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले जारी गरेको जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सबै उम्मेदवारहरुको लागि साझा चुनावी मैदान बनाउनेको लागि आयोगले सोमबार बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने स्पष्टिकरण दिएको थियो ।
यसको विरोधमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
१३ चैतसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उक्त दिन दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।