आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएईसँग पराजित भएको छ । नेपालको यो युएई संग लगातार दोस्रो हार हो । आज भएको खेलमा नेपाल युएईसँग ९९ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । युएईले नेपाल समक्ष २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा सिमित भयो । खराब सुरुआत गरेको नेपालका आसिफ शेखको स्थानमा आएका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् । उनी मात्र २ रन बनाएर पेभिलियन फर्किए । यस्तै अर्का ओपनर कुशल भुर्तेल लगातार तेस्रो खेलमा खराब प्रदर्शनलाई निरन्तरता दिंदै ५ रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले ३ ओभर नसकिंदै ८ रनमा महत्वपूर्ण ३ विकेट गुमाउन पुगेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । उनले ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए । अघिल्ला दुई खेलमा लयमा देखिएका रोहित पौडेल आज ९ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो। आरिफ शेखले ४० बलमा १५ र जोड्दा विनोद भण्डारी १२ रनमा आउट भए ।
सोमपाल कामीसँग दोस्रो रनको लागि तालमेल नमिल्दा बिनोद सहज रनआउट भए । करन केसी ४ रनमा आउट हुँदा बिक्रम सोबले १ रन बनाए । सन्दीप लामिछाने बलनै नखेली अविजित रहे । यूएईका लागि जुनाइद सिद्दिकीले ४ विकेट लिए । यस्तै कासिफ दौद र अहमेद राजाले समान दुई दुई विकेट लिए । त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन जोडेको थियो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाएका थिए । अब नेपालले भोलि पीएनजी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।