सिन्धुलीमा प्रचण्ड हलमा सीमित हुँदा राजेन्द्र लिङ्देनको सर्मथनमा खुला मञ्चमा उर्लियो जनसागर — OSNepal

सिन्धुलीमा प्रचण्ड हलमा सीमित हुँदा राजेन्द्र लिङ्देनको सर्मथनमा खुला मञ्चमा उर्लियो जनसागर

LC (KTM) March 20, 2022 0

सिन्धुली । राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् ।

यसरी कार्यक्रम गरिरहँदा विशेषगरी माओवादी केन्द्र र राप्रपाको हैसियतमा फेरबदल आएको देखिन थालेको छ । माओवादी केन्द्रको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा नागरिकको साथ देखिएको छ । दुवै दलले दैनिकजसो कार्यक्रम गरिरहेका छन् । तर, माओवादीको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा बढी जनताको सहभागिता देखिएको हो ।

साविक नेकपा र एमाले विभाजनले माओवादीलाई नकारात्मक प्रभाव पर्दा नयाँ नेतृत्व पाएको राप्रपाप्रति जनताको विश्वास बढेको देखिन्छ । गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको विश्वास र भरोसा बढेको देखिन्छ ।

यता साविक नेकपा र एमाले विभाजनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको आरोप खेपेको माओवादीले जनमत गुमाउँदै गएको शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमले एकहदसम्म पुष्टि गर्छ ।

शनिबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा माओवादी केन्द्र र राप्रपाले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो । तर, माओवादीलाई भन्दा राप्रपालाई सिन्धुलीवासीले साथ दिएको देखियो । सिन्धुलीमा हरिबोल गजुरेलजस्ता नेता पाएको माओवादीले अध्यक्ष प्रचण्डको प्रमुख उपस्थितिमा सदरमुकाममा आयोजना गरेको कार्यक्रम एउटा हलमा सीमित हुनुले उसको हैसियत प्रष्ट भएको हो ।

सोही समयमा राप्रपाले भने सिन्धुलीमाडीकै खुलामञ्चमा कार्यक्रम ग¥यो । खुलामञ्चमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आयोजित राप्रपाको कार्यक्रममा जनताको ठूलो सहभागिता रहँदा एउटा हलमा आयोजित प्रचण्ड सहभागी कार्यक्रम सुनसानझैँ देखिन्थ्यो । माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर