धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट विदाइ गर्नुभएको हो ।
खेलाडीहरुलाई खेल पोशाक र राष्ट्रिय झण्डा हस्तान्तरण गर्र्दै सामाजिक विकास मन्त्री राईले उच्च मनोवलका साथ खेलमा सहभागी हुन आग्रह गर्नुभयो । मन्त्री राईले सो प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त भएमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत बताउनुभयो । प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहनु भएको छ ।
टिममा प्रकाश लावती लिम्बु (झापा), सन्देश विष्ट (भोजपुर), दिलिप राई (ओखलढुंगा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा ( उदयपुर), अनिल श्रेष्ठ (ओखलढुंगा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिशेक थापा (ओखलढुंगा), हिमाल प्रसाइँ (ताप्लेजुङ), संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) सहभागी हुनेछन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनोट प्रदेश नं १ भलिवल संघसँगको सहयोगमा सामाजिक विकास मन्त्रालयले गरेको थियो । सात वटै प्रदेश, तीन विभागिय टोली नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मी सहित १० टिम सहभागी हुने प्रतियोगिता चैत्र ७ देखि १२ सम्म संचालन हुनेछ ।