दायित्वको आयोजनामा लुम्बिनीमा २ दिने आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न — OSNepal

दायित्वको आयोजनामा लुम्बिनीमा २ दिने आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न

LC (KTM) March 17, 2022 0

लुम्बिनीमा २ दिने आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनीधिहरुको आर्थिक सुशासन तथा नीगित नेतृत्व क्षमता सबलीकरण गर्ने उद्देश्यले २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । दायित्वले लुम्बिनी प्रदेशका तीन पालिकाहरु मुसिकोट, सुनवल र तिलोत्तमाका नगरप्रमुख, उपप्रमुख, राष्ट्रसेवक तथा जनप्रतिनीधिहरुको आर्थिक सुशासन तथा नीगित नेतृत्व क्षमता सबलीकरण गर्नका लागि प्रशिक्षण कार्यक्रम चलाएको हो ।

तीन चरणमा आयोजना गर्ने गरी ६ भागमा बाँडिएको प्रशिक्षण कार्यक्रमको पोखरा (पहिलो र दोस्रो), धुलीखेल (तेस्रो र चौथो) तथा लुम्बिनीमा (५ र ६औं) भाग आयोजना गरिएको हो । लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनको प्रमुख आतिथ्यमा कार्यक्रम शुभारम्भ भएको हो । कार्यक्रम सुशासन अन्यायमा परेकालाई न्याय दिएर मात्र होइन स्वास्थ्य, शिक्षा, आधारभुत आवश्यकतामा पहुँच नभएकाहरुको सुनिश्चित गर्न सक्नु पर्ने प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

प्रशिक्षणका विभिन्न सत्रहरु नेपाल सरकारका पूर्व सचिवहरु कृष्ण ज्ञवाली, शरदचन्द्र पौैडेल, कृष्णहरी बाँसकोटा, पूर्णचन्द्र भट्टराई, संचारकर्मी एवं अधिकारकर्मी नम्रता शर्मा, जलवायु संरक्षण अभियन्ता सिलसिला आचार्य, मुटुरोग विशेषज्ञ भगवान कोइराला र दायित्वका अध्यक्ष डा. पुकार मल्लद्वारा सहजीकरण गरिएको थियो ।

असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यावहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, कानुन र स्थानिय विकास, संघीयताको आर्थिक परिकल्पना, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक नीति साझेदारी, स्थानिय सरकार वित्त व्यवस्थापन लगायतका समय सान्दर्भिक बिषय वस्तुमा प्रशिक्षित गरिएको दायित्व संस्थाका अध्यक्ष डा.पुकार मल्लले जानकारी दिनुभयो ।

दायित्व एक गैर नाफामुखी, गैर सरकारी नेपाली संस्था रहेको छ । यस संस्थाले उद्यमशिल नेपालको परिकल्पना गर्ने गरेको छ । सन २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १४१ नेपाली युवाहरुदारा ५१ सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रादेशिक र स्थानिय तहमा नीति अनुसन्धन सहयोग पुरयाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर