काठमाडौं २ चैत । नेकपा एमालेले बुधबार संसदीय दलको बैठक बोलाएको छ ।
बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका हुन् । आज बस्ने संसदीय दलको बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने बताइएको छ ।
सरकारले हिजो रातिबाट लागु हुने गरी संसद अधिवेशन अन्त्य गरेको हो । एमालेले गत भदौ २३ गते देखि आफ्नो मात्र पुरा नभएको भन्दै संसद अवरोध गर्दै आएको थियो । एमालेको अवरोधले निरन्तरता पाउँदै गर्दा संसद अधिवेशन अन्त्य भएको हो ।
एमालको अवरोधका बाबजुद पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका थिए । आफ्नो पार्टीले कारवाही गरेका १४ जना सांसद को सूचना टाँस गर्नुपर्ने मागसहित एमालेले संसद अवरोध गर्दै आएको थियो ।