जाजरकोट ३० फागुन । नेकपा नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।
भ्रष्टाचार गरेको आरोपमा जैसीलाई नेकपा निकट युवा संगठन नेपालले कार्यकक्षमै कालो मोसो दलेर जुत्ताको माला लगाइ दिएका हुन् । जैसीलाई कालो मोसो दलेर जुत्ताको माला लगाएको जिम्मा लिँदै युवा संगठन नेपाल जाजरकोटले प्रेस विज्ञप्ति नै जारी गरेको छ ।
‘६ महिना लामो अध्ययन तथा अनुसन्धानपछि कार्यालय प्रमुख टीकाराम जैसीलाई कारबाही गरेका हौं, कार्यालय प्रमुखको जिम्मेवारीबाट तत्काल राजीनामा नदिएमा थप कारबाही गर्न बाध्य हुनेछौं ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ , ‘२ करोड १२ लाखमा खरिद गरिका २५ वटा बेडबाट १० लाख, एम्बुलेन्स खरिदबाट २ लाख, एक्सरे मेसिन खरिदबाट ३४ लाख, अक्सिजन पलान्ट खरिद, ढुवानी तथा जडानबाट ५ लाख, प्रयोगशालाको छाना छाउने जस्तापाता खरिद तथा जडानमा हदैसम्मको भ्रष्चार, स्टेवलाइजर खरिदमा २ लाख गरी जम्मा ५० लाख भन्दा बढी रकम भ्रष्टाचार गरिएको छ । ‘
जैसीले भने आफुमाथि लगाइएका आरोप सबै गलत भएको भन्दै आफुमाथि कुटपटि समेत भएको प्रहरीलाई बताएका छन् । प्रहरीले पनि तीनजनाको पहिचान भइसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।