चीनसँग सीमा जोडिएको हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव — OSNepal

चीनसँग सीमा जोडिएको हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

LC (KTM) June 07, 2021 0

सिमकोट, २४ जेठ- चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो ।

हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तुका लगायतको अभाव भएको हिल्सा बिओपीका इन्चार्ज केसीले बताउनुभयो । यारी, याल्वाङ, मुचु, केर्मीलगायतका गाउँबाट खरिद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या भएको उहाँले बताउनुभयो ।

हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा शसस्त्र प्रहरी बलको टोली यो वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको हो ।हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरी चौकी भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपी यो वर्ष पहिलो पटक हिल्सामा बसेको हो । सीमा सुरक्षा राष्ट्रको संवेदनशील पक्ष हो  । सरकारले आफ्नो सीमा सुरक्षालाई विशेष महत्व दिएको भए पनि दुर्गम जिल्लाको सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर