काठमाडौं २५ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठवन्धन बचाउन व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिएको बताएका छन् ।
आज बुधबार बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमाले मिलेर गठवन्धन तोड्न लागेकाले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको बताएका हुन् ।
उक्त प्रतिवेदनमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारवाही गर्नेगरी नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए। त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारवाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे। हामीले वैकल्पिक बाटो रोजेर ती सवै खतरालाई टारेका छौं’ ।
पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग फिर्ता लिनेगरी एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने प्रयास भएपछि पाँच दलीय गठबन्धनमा संलग्न दलहरू वैकल्पिक निकासको खोजीमा लागेको समेत उक्त प्रतिवेदनमा भनिएको छ ।