नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा निरन्तर हुदै आएको सामुहिक ब्रतवन्ध, गुन्यु चोली दान कार्यक्रम पुनः सुचारु हुने भएको छ । बिश्वभर फैलिएको कोरोनाको महामारीका कारण रोकिएको यी धार्मिक अनुष्ठानका कार्यक्रमहरु पुनः सुचारु गर्न लागिएको समाजले जनाएको छ । समाजकी सेक्रेटरी सुनिता गिरीले भन्नुभयो– हामीले वटुकहरुको लागि सामुहिक ब्रतवन्ध, कन्याहरुलाई सामूहिक गुन्यु चोली दान तथा सकल परिवारमा सुस्वास्थ्य, उन्नति, प्रगतिको लागि सामूहिक नवग्रह पूजन, हवन,पाठको आयोजना गरिएको छ ।
ईच्छुक सबैले सहभागिताको लागि नाम दर्ता गर्न सक्नु हुन्छ । उहाले थप भन्नुभयो– शास्त्र हराए संस्कृति ,संस्कृति हराए संस्कार अनि संस्कार हराए हाम्रो अस्तित्व नै कता हो भनेर खोज्नु पर्ने हुन्छ त्यसैले हामीले निरन्तर यस्ता धार्मिक अनुष्ठानका कार्यक्रम गरिरहेका छौ । गिरीले आजको नयाँ पुस्तालाई हाम्रो संस्कार , संस्कृति , कर्तव्य र मुल्य मान्यता दिनका लागि यस्ता कार्यक्रमहरु गरिदै आएको जानकारी दिनुभयो । सिड्नीको रिजेन्टस् पार्क स्थित श्री दुर्गा मन्दिरमा कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।