विराटनगर २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओली सत्तागठवन्धन माथि खनिएका छन् ।
पार्टी प्रवेश गराउन मोरङको रंगेली पुगेका अध्यक्ष ओलीले गठवन्धन सरकारले मिल्ने भए धरहरा र रानीपोखरी पनि भत्काएर अगाडी जान खोज्थे भन्दै एमालेले गरेको कामको भन्डाफोर अभियान चलाउने आरोप समेत लगाएका छन् ।
माओवादीबाट निर्वाचित मेयर, उपमेयर र वडाध्यक्षसहित लाई पार्टी प्रवेश गराउन विराटनगरको रंगेली पुगेका ओलीले आफु नेतृत्वको सरकारलाई परमादेशको आदेशवाट हटाएको दावी गरेका छन् ।
आफ्नो समयमा एकैचोटी ३९६ वटा अस्पतालको सुरुआत गरेको बताएका उनले भने, ‘केही अहिले बनिरहेका छन्, केही बजेट अहिलेको सरकारले सारेको छ । हामीले हरेक पालिका सदरमुकाम जोड्ने २६५ सडक एकैपटक शिलान्यास गर्यौं । तीनको पनि बजेट काटिएको छ । विकासविरोधीहरुले गर्ने भण्डाफोर भनेको यही होला’ ।
कांग्रेस सरकारको चर्को आलोचना गरेका ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामको भण्डाफोर गर्ने भनेर विकासको विरोध गर्दै हिड्ने भन्दै प्रश्न समेत गरेका छन् ।