काठमाडौं, २५ फागुन-नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट वरीयता हो । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए ।
यस्तै, नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन् ।
वरीयताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । वरीयताको शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटरद्वय बाबर आजम र मोहम्मद रिजवान छन् ।
यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन् ।